१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

सुन्तला बेचेर करोडौँ आम्दानी



गलकोट । बागलुङको सुन्तला गाउँका रुपमा परिचित सिगानाका किसानले यसवर्ष सुन्तला बिक्री गरेर तीन करोड भित्राएका छन् ।

गतवर्ष भन्दा यस वर्ष सिगानामा सुन्तला उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ । यस वर्ष उनीहरुले गत वर्षकै मूल्यमा बगैँचा नै व्यापारीलाई बिक्री गरेका थिए । बोटबाटै सुन्तला बिक्री गर्दा सरदर मूल्य प्रतिकेजी ५० पर्न गएको छ ।

यस वर्ष उत्पादित यहाँको सुन्तला ९० प्रतिशत बजार पुगिसकेको छ । गणेश कृषि व्यावसायिक सहकारीमार्फत सुन्तलाको बजारीकरण समेत हुँदै आएको छ ।

बागलुङ नगरपालिका–८ सिगानाका किसानले सुन्तला बिक्रीबाट तीन करोड भित्राउन सफल भएका हुन् । सहकारीले संकलन गरेको तथ्यांकअनुसार गत वर्ष सुन्तला बिक्रीबाट दुई करोड ७५ लाख भित्राइएको थियो । यस वर्ष तीन करोड ५० लाखको सुन्तला बिक्री गर्ने लक्ष्य रहे पनि मूल्य वृद्धि नहुँदा करिब तीन करोडको मात्रै बिक्री भएको किसानले बताएका छन् ।

अहिले सहकारीले सुन्तला बिक्रीको तथ्यांक संकलन गरिरहेको सहकारीका सल्लाहकार एवं अगुवा सुन्तला किसान शिवकुमार खड्काले बताए ।

सिगाना गाउँको साविक ३, ४, ५ र ७ वडामा सुन्तला राम्रो उत्पादन हुने खड्काले जानकारी दिए । “सहकारीमा मात्रै आबद्ध १५० किसान सुन्तला खेतीमा छन्”, उनले भने, “सहकारीमार्फत ४० हजार नयाँ बिरुवा अनुदानमा वितरण गरिरहेको थियो । अबको पाँच वर्षमा पाँच करोडको सुन्तला बिक्री गर्ने लक्ष्य रहेको छ ।”

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १ : १५ बजे