४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

एक महिना लामो स्वस्थानी व्रत सकियो



काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत शनिबार समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गरिएको हो ।

काठमाडौंको साँखु शाली नदीमा एक महिना लामो माधव नारायण व्रत पनि समापन भएको छ । यसवर्षको साँखुको एक महिना लामो स्वस्थानी व्रतमा सहभागी महिला र पुरुषले व्रत समापन गरेका हुन् ।

स्वस्थानी व्रत कथामा स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई भन्ने र सुन्ने गरिन्छ । विधिपूर्वक एक महिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाएर व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घय दिने धार्मिक परम्परा छ ।

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार एक महिनासम्म विधिपूर्वक स्वस्थानी माताको पूजा आराधना गरे श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  २ : २० बजे