२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

मनाङमा घर भत्कँदा एकको मृत्यु, सातजनाको सकुशल उद्धार



मनाङ । मनाङमा शनिबार एउटा घर भत्कँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको धार्चे गाउँपालिका–६ का अन्दाजी ३७ वर्षीय बीरबहादुर घले रहेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।

ङिस्याङ गाउँपालिका–४, मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर घलेको मृत्यु भएको हो । घर मर्मत गर्ने नौ कामदारमध्ये सातजनाको सकुशल उद्धार गरिएको छ । एकजनालाई सामान्य चोट लागेको प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाइ छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भान्सा रहेको सो घरमा हिमपातपछि पानी चुहिने समस्या देखिएको थियो ।

उनले भने, “केही दिनअघिको भारी हिमपातपछि घरमा पानी चुहिने समस्या देखिएको रहेछ । सो मर्मतका क्रममा घर भत्किएको हो । घलेको माटोले च्यापिएर मृत्यु भएको जानकारी प्राप्त भएको छ ।”

माटोले पुरिएका कामदारको नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो ।

मृतक घलेको शव पोस्टमार्टमका निम्ति चामेमा पठाइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनले भने, “माटोले पुरिँदा एकजनाको टाउकोमा सामान्य चोट लागेकोमा प्राथमिक उपचार गरिएको छ भने अन्यको सकुशल उद्धार गरिएको छ ।”

उनका अनुसार, घरमा हिउँ बढी जमेपछि पानी चुहिने समस्या देखिएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १० : २५ बजे