२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

इलाम–२ मा मुख्य निर्वाचन अधिकृत तोकियो



इलाम । प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मंगलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो ।

यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उमेदवारी मनोनयन हुनेछ । उपनिर्वाचनमा भाग लिन आयोगमा २० दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली संकलन गरिसकेको छ । इलाम–२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा ८९४ जना कर्मचारी परिचालन हुनेछन् ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ११ : ५० बजे