काठमाडौँ । बिहिबार संघीय संसद अन्तर्गतका ७ वटा संसदीय समितिको बैठक बस्दैछ।
राष्ट्रिय सभा अन्तर्गको एउटा समिति र प्रतिनिधि सभा अन्तर्गतका ६ वटा बैठक आज बस्न लागेको हो।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक साढे ११ बजे, कानुन, न्याय तथा सामाजिक मामिला समितिको बैठक अहिले बसिरहेको छ । महिला तथा सामाजिक मामिला समितिको बैठक २ बजे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति १ बजे र सार्वजनिक लेखा समितिको बैठक १ बजे बस्ने तय भएको छ।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक ३ बजे बस्ने संसद सचिवालयले जनाएको छ।
अर्थ समितिको बैठकमा उजुरी छानबिन उपसमितिमा हाल सम्म भएका कामकारवाहीको जानकारी सम्बन्धमा समितिको आन्तरिक छलफल हुनेछ।
त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्रत्यायन ऐन, २०७९ को दफा ३ मा व्यवस्था भए बमोजिमको नेपाल प्रत्यायन केन्द्रको स्थापना गर्ने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भए गरेको कामकारबाहीका बारेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग छलफल हुनेछ ।
१ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सरकारी आश्वासन कार्यान्वयन अवस्थाको प्रगति सम्बन्धमा, सार्वजनिक नीतिको मस्यौदा, निर्माण र कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ।
सार्वजनिक लेखा समितिको बैठकमा हुलाकी राजमार्ग सम्बन्धमा छलफल हुनेछ।





