काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आगामी दुई वर्षभित्र थप आठ सय मेगावाट विद्युत् सौर्य आयोजनाबाट खरिद गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले बोलपत्र आह्वानसमेत गरिसकेको छ । बढीमा १५० मेगावाट आयोजना एक प्रवर्धकले आपूर्ति गर्ने गरी बुधबार बोलपत्र आह्वान गरिएको प्राधिकरणले जनाएको छ ।
२५ वर्ष अवधिका लागि विद्युत् खरिद बिक्री सम्झौता गर्ने गरी आह्वान गरिएको बोलपत्र अनुसार १० मेगावाटभन्दा साना आयोजनाले १८ महिनाभित्र र त्यसभन्दा ठुला आयोजनाले दुई वर्षभित्र विद्युत् उपलब्ध गराउनुपर्ने हुन्छ । प्रतिस्पर्धी दरमा प्रस्ताव पेस गर्न आह्वान गरिएको हो । प्राधिकरणले प्रतियुनिट पाँच रुपियाँ ९४ पैसा अधिकतम दर निर्धारण गरेको छ । सो दरभन्दा कममा प्रस्ताव गर्ने आयोजनाले उपयुक्तताका आधारमा पिपिए गर्न पाउने विद्युत् व्यापार विभागले जनाएको छ ।
प्राधिकरणले तराईका लोड सेन्टरमा बढ्दो विद्युत्को माग र विद्युत् आपूर्ति सन्तुलन कायम गर्ने गरी यो प्रस्ताव आह्वान गरेको हो । मौसमी प्रतिकूलताका कारण सुक्खायाममा जल प्रवाही आयोजनाको विद्युत् उत्पादन १० प्रतिशतसम्म झर्न थालेपछि प्राधिकरणलाई लोड व्यवस्थापनमा सकस पर्दै आएको छ । त्यसबाहेक तराईका औद्योगिक कोरिडोरमा पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइनको सीमितताले समस्या परिरहेको छ ।
विद्युत् आपूर्ति व्यवस्थापनलाई किफायती बनाउन पनि सौर्य ऊर्जा आयोजनाका लागि विद्युत् खरिद बिक्री सम्झौता गर्न प्रस्ताव आह्वान गरिएको हो ।
नेपालमा अहिले २३० मेगावाट क्षमताका विभिन्न सौर्य आयोजनाको विद्युत् खरिद सम्झौता भइसकेको छ । यीमध्ये ११० मेगावाटका आयोजनाबाट विद्युत् आपूर्ति सुरु भइसकेको छ । १२० मेगावाटका आयोजना निर्माणाधीन छन् । प्राधिकरणले देवीघाट जलविद्युत् आयोजना परिसरमा २५ मेगावाट क्षमताको सौर्य आयोजना निर्माण गरी सञ्चालनमा समेत ल्याइसकेको छ ।