काठमाडौँ । नेपाली कांग्रेसले अप्रत्यासिक रुपमा चालु अधिबेशन अन्त्य भन्दै सरकारको निर्णयको निन्दा गरेको छ । आज कांग्रेस संसदीय दल बैठकले बजेट अधिबेशन समय हुँदा हुँदै असमाहिक रुपले सरकारले चालु अधिबेशन अन्त्य गरेको भन्दै आपत्ति जनाएको हो । त्यस्तै सरकार अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध काम गरेको भन्दै अब त्यसो नगर्न चेतावनी समेत दिएको छ । बैठक पछि सञ्चारकर्मीलाई बैठकका निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले सरकारको तानाशाही प्रवृत्तिका कारण आफूहरूले २ दिन मात्रै संसद् अवरोध गरेको र यसको जिम्मा सरकारले लिनुपर्ने बताए । उनले भने, ‘प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने तर्क लज्जास्पद छन् । संसद्का कुनै पनि काम कारबाही अवरोध गरेको थिएन । सरकारको तानाशाही प्रवृत्तिका कारण २ दिन अवरोध भएको हो । यसको जिम्मा सरकारले नै लिनुपर्दछ ।’ उनले भने
सरकारका उपप्रधान तथा गृहमन्त्री नै सहकारी ठगीमा संलग्न रहेको विषयमा छानबिन गर्न माग गर्दा सरकार सदनबाट भागेको लेखकले बताए । कांग्रेसले सहकारी ठगीमा एक महिनादेखि सदनमा गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाउँदै आएको थियो । आगामी अधिवेशनमा पनि कांग्रेसले गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगीको विषय निरन्तर उठाउने लेखकले बताए । महत्वपुर्ण कानुन निमार्णको काम थाती राखेर चालु अधिबेशन अन्त गर्नुले सरकार संसदीय ब्यवस्था कमजोर पार्न उद्धत रहेको आरोप लगाएको छ ।