१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

उपनिर्वाचनको मौन अवधि सुरु, आजबाट प्रचारप्रसार गर्न नपाइने



काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ ।

निर्वाचन आचारसंहिताअनुसार गएरातिदेखि मौन अवधि सुरु भएको हो । मौन अवधिमा उम्मेदवार वा पार्टीलाई निर्वाचनको प्रचारप्रसार गर्न निषेध गरिएको छ ।

निर्वाचन आयोगले मतदान हुने दिन १५ वैशाखभन्दा ४८ घण्टाअघि १२ वैशाख राति १२ बजेदेखि मतदानको काम नसकिएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ ।

आयोगले यो अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइएको छ ।

निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध छ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नरगराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  १० : १२ बजे