१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

गृह मन्त्रालयले भन्यो -व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउनु



काठमाडौँ । गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ ।

प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेकलाई तत्काल फिर्ता बोलाई सोको विवरण उपलब्ध गराउन ति दुवै निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ । निर्देशनमा भनिएको छ, “सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र पदाधिकार रहेको कार्यालयमा फिर्ता बोलाइ सोसम्बन्धी विवरण उपलब्ध गराउनू ।”

त्यसरी खटिएका सुरक्षाकर्मी फिर्ता नभएमा खटिने सुरक्षाकर्मीको तलब रोक्का गर्न र फिर्ता नगर्ने पदाधिकारीको नाम सार्वजनिक गर्ने प्रयोजनका लागि मन्त्रालयमा विवरण उपलब्ध गराउनसमेत निर्देशन दिइएको छ ।

त्यस्तै, विशिष्ट व्यक्तिहरूको जिल्ला भ्रमणलगायतका कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न गराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक कार्यविधिविपरीत अगुवा पछुवा उपलब्ध नगराउन पनि दुवै प्रहरी सङ्गठनलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । यसैबिच उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ लाई समयानुकूल परिमार्जनको गृहकार्यसमेत भइरहेको बताए ।
“एकातिर शान्ति सुरक्षा कायम गर्ने तथा सीमा सुरक्षा पोष्टमा खटिने सुरक्षाकर्मी कमी हुने अर्कातिर विशिष्ट पदाधिकारीले व्यक्तिगत कामका लागि राष्ट्रसेवक प्रयोग गर्ने प्रचलन छ । त्यसैको अन्त्यका लागि यो निर्णय गरिएको हो । कार्यविधिलाई समयानुकूल बनाउने कार्यसमेत अगाडि बढेकाले यो कार्य थप व्यवस्थित हुनेछ”, उनले भने ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ११ : ५४ बजे