१३ पुस २०८१, शनिबार | Sat Dec 28 2024

राष्ट्र बैंकले ६ बैंकलाई गर्‍यो कारबाही, कुन बैंकलाई कस्तो कारबाही ?



काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ बैंकलाई कारबाही गरेको छ । बैंकले नियम बिपरित कार्य कामकारबाही गरेका भन्दै भने केही सञ्चालकलाई नगद जरिवाना समेत गराएको छ।
राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा, प्राइम कमर्सियल, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, एक्सेल डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकलाई कारबाही गरेको हो।
कुन बैंकलाई कस्तो कारबाही ?

लक्ष्मी सनराइज बैंक – लक्ष्मी सनराइज बैंकका संस्थापक राजेन्द्र कुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड रूपैयाँ कर्जामध्ये ११ करोड ४४ लाख रूपैयाँ रकम आफ्नो खातामा ट्रान्सफर गरेर प्रयोग गरेको भन्दै १० लाख जरिवाना गरिएको छ।

प्राइम बैंक – पुँजी कोषसम्बन्धी व्यवस्था पालना नगरेको कारण गर्दा प्राइम बैंकको सिइओलाई नसिहत दिनुका साथै सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराएको छ।

कुमारी बैंक – कुमारी बैंकलाई समेत पुँजीकोषको प्रावधान विपरीत गएर सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कार्यसम्पादन नै नभई सिइओलाई पारिश्रमिक दिएको भन्दै राष्ट्र बैंकले बैंकका सिइओ तथा सञ्चालकलाई सचेत गराएको छ।

कुमारी बैंकले बैंक–वित्तीय संस्थाका प्रमुख कार्यकारीको तलब भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शनुको व्यवस्था विपरीत तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता तथा सुविधा दिने गरी करार सम्झौता गरेको र कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक भनी २ करोड ३ लाख भुक्तानी दिएको थियो। यो रकम असुल गरिएको समेत राष्ट्र बैंकले उल्लेख गरेको छ।

नेपाल इन्भेस्टमेन्ट बैंक – राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकका सिइओलाई समेत सचेत गराएको छ। चालु वर्षको तेस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले प्रतितपत्रअन्तर्गत दिएको कर्जालाई बारम्बार अवधि थपिदिएको, कर्जाको आधार दर गणना गर्दा समाजिक उत्तरदायित्व अन्तर्गतको खर्च जोडेको र जोखिम भारित सम्पत्तिलाई कम देखाई पुँजीकोष गणना गरेको थियो।

लुम्बिनी विकास बैंक – ग्राहक पहिचानमा गम्भिरता नदेखाएको भन्दै राष्ट्र बैंकले सचेत बनाएको छ।
एक्सेल डेभलपमेन्ट बैंक – एक्सेल डेभलपमेन्ट बैंकलाई निर्देशन पालना नभएको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  २ : ४४ बजे