२९ भदौ २०८३, सोमबार | Tue Sep 15 2026

राष्ट्रपतिसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट



काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आउनुभएकी जापानकी परराष्ट्र मन्त्री कामीकावा योकोले राष्ट्रपति भवन शीतल निवासमा शीष्टाचार भेट गरेकी छन् ।

शीतल निवासमा आइतबार भएको सो शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्वन उत्सजन गर्ने विकसित मुलुकहरुले जलवायु परिवर्तनको असर न्यूनिकरणका सन्दर्भमा अत्यन्त गम्भिर भईदिन आग्रह गरेको राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

राष्ट्रपति पौडेलले एशियाका ज्योति गौतम बुद्धको सन्देश प्रवाहित भएदेखिनै नेपाल जापानबीच सांस्कृतिक सम्बन्ध रहिआएको उल्लेख गर्दै दुई देशबीच समस्यारहित सम्बन्ध रहेको र नेपालले सधै जापानको उच्च सद्भाव महशुस गरेको पनि बताए ।

नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाल र जापानबीचको आर्थिक सहयोग र सहकार्यका क्षेत्रहरू थप विस्तार हुने विश्वास व्यक्त गरे ।
हामीले जनस्तरको सम्बन्ध फराकिलो बनाउन प्राथमिकता दिनु पर्दछ भन्दै उहाँले जापानसँगको धार्मिक–सांस्कृतिक समानता एवं नेपालको प्राकृतिक सुन्दरताका कारण नेपालमा थप जापानी पर्यटकहरू आउने विश्वास व्यक्त गरे ।

सो अवसरमा जापानी विदेशमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापानपनि चिन्तित रहेको उल्लेख गर्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताए । उनले सन् २०५० सम्ममा कार्वन उत्सर्जन शून्यमा पु¥याउने लक्ष्य राखेको बताउँदै जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि वैकल्पिक उर्जाको प्रयोगका निम्ति प्रविधिमा ठूलो क्रान्ति गर्न सबै मिलेर अगाडि बढाउने बताए । नेपालको विकास र स्थिरता यो क्षेत्रकै लागि आवश्यक महशुस गरेर जापानले नेपालको विकासमा हरतरहको सहयोग गर्ने बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ६ : ३८ बजे