२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

सिप र श्रमका आधारमा कैद मिनाहाको नीति ल्याइने छ : गृहमन्त्री लामिछाने



चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रम र सिपका आधारमा कारागारमा रहेका कैदीहरूको कैद मिनाहाको नीति ल्याइने तयारी भइरहेको बताएका छन् । भरतपुर कारागारको निरीक्षण गर्दै शनिबार गृहमन्त्री लामिछानेले कैदीबन्दीहरूलाई अब सिप र श्रममा दक्ष बनाइने धारणा पनि राखे ।

“अब कुनै पनि नेताको भनसुनका आधारमा हैन । तपाईँको सिप र श्रमका आधारमा कैद मिनाहाको नीति ल्याइने छ”, कैदीबन्दीहरुसग गृहमन्त्रीले भने, “सरकारले कैदीबन्दीहरूलाई श्रम र सिपमा दक्ष बनाउने सम्बन्धमा नीति तथा कार्यक्रममा नै समेटिएको छ अब यसलाई आगामी बजेटबाटै सुनिश्चित गरिने छ ।”

कतिपय अवस्थामा आफूहरू निर्दोष हुँदाहुँदै पनि विनाकारण जेल जीवन बिताउन परेको गुनासो केही कैदीबन्दीहरुले गरेपछि त्यसको जवाफमा गृहमन्त्री लामिछानेले कोही पनि निर्दोष नफसुन् भन्ने सम्बन्धमा अनुसन्धानमा सचेत हुनुपर्ने धारणा राखे ।

“अदालतको फैसलालाई सबैले सम्मान गर्नुपर्छ । तर यदि नगरेको अपराधकै कारण कसैले दुख पाउनुहुँदैन भन्ने तर्फ पनि सचेत हुन जरुरी छ”, उनले भने । उनले कारागारलाई बन्दी गृह भन्दा पनि सुधार गृह बनाउन जरुरी रहेको पनि बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  २ : ०९ बजे