काठमाडौँ । प्रहरीले अनलाइन बेट्रिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर–८ का २४ वर्षीय अनिल ढुंगाना छन् । सोमबार पत्रकार सम्मेलन गरी ढुंगानालाई सार्वजनिक गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले ढुंगानाले विभिन्न माध्यमबाट दुई अर्ब एक करोड बढीको कारोबार गरेको प्रारम्भिक अनुसनधानबाट खुलेको बताए ।
११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिङ्क गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको खुलेको जानकारी उहाँले दिनुभयो । त्यस्तै, १५ वटा वालेटहरु प्रयोग गरी पाँच करोडभन्दा बढी रकम कारोबार गरेको, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको छ ।
उनले पक्राउ गरिएको ढुंगानालाई नेपालको कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताए ।