काठमाडौँ । अगामी जेठ महिनाका लागि ११ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर सम्बन्धी सूचनाअनुसार ती बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको ब्याजदर घटाएका हुन् । त्यस्तै संस्थागत मुद्दती निक्षेपमा १० वटा तथा साधारण बचत खातामा ८ वटा बैंकले ब्याजदर घटाएका छन् ।
प्रकाशित नयाँ ब्याजदर तालिका अनुसार बैंकहरुले साधारण बचत खाताका लागि न्यूनतम ब्याजदर ३ प्रतिशत देखि ३.६५ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । अघिल्लो महिना यस्तो न्यूनतम ब्याजदर ३ प्रतिशत देखि ३.७५ प्रतिशतसम्म रहेको थियो ।
त्यस्तै एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरुले ५ प्रतिशतदेखि ७.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । अघिल्लो वर्ष यस्तो ब्याजदर ५ प्रतिशतदेखि ७.७५ प्रतिशतसम्म थियो ।
एकवर्षे संस्थागत मुद्दती निक्षेपमा बैंकहरुको ब्याजदर ४ प्रतिशतदेखि ६.३६ प्रतिशतसम्म रहेको छ । अघिल्लो महिना ४ प्रतिशतदेखि ६.७० प्रतिशतसम्म रहेको थियो ।
नयाँ तालिकाअनुसार अहिले बचत खातामा सबैभन्दा धेरै नेपाल बैंक र एनआईसी एसिया बैंकले ३.६५ प्रतिशत प्रस्ताव गरेका छन् । त्यस्तै व्यक्तिगत मुद्दती खातामा एनआईसी एसिया बैंकको ७.७ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा सोही बैंकको ६.३६ प्रतिशत ब्याज नै सर्वाधिक देखिएको छ ।
ब्याजदर स्थिर राख्नेमा नेपाल बैंक, कृषि विकास, लक्ष्मी सन्राइज, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, माछापुच्छ्रे र स्ट्याण्डर्ड चार्टर्ड बैंक छन् ।
तालिकामा हेर्नुहोस्, कुन बैंकको ब्याजदर कति ?