१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित



काठमाडौँ । सरकारले १६ औँ पञ्चवर्षीय योजना पारित गरेको छ । मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले १६ औँ पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग बैठकका निर्णय जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले विभिन्न चरणमा छलफल भएर १६ औँ योजना पनि पारित गर्ने निर्णय गरेको बताइन् । त्यस्तै सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने आगामी आर्थिक वर्ष २०८१\०८२ को नीति तथा कार्यक्रम पनि पारित गर्ने निर्णय गरेको बताइन् ।
उनले भने, ‘सम्माननीय राष्ट्रपतिज्यूद्वारा सङ्घीय संसद्को संयुक्त बैठकलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न आह्वान गर्नुभएको थियो, त्यसबारेमा छलफल भयो । नीति तथा कार्यक्रम मन्त्रीपरिषद्को बैठकले पारित गरेको छ ।

आर्थिक वर्ष अगावै १६ औँ पञ्चवर्षीय योजना जुन छ, राष्ट्रिय योजना आयोगबाट तयार भएको विभिन्न चरणमा छलफल भएर १६ औँ योजना पनि पारित गर्ने निर्णय भयो ।’ सरकारको तर्फबाट आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कर्यक्रम छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १ : २४ बजे