१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय



काठमाडौं । आज बस्ने प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । बानेश्वरमा बसेको कांग्रेससहितका विपक्षी दलका नेताहरुको बैठकले लामिछानेलाई संसद्को आजको बैठकमा बोल्न दिने निर्णय गरेको हो ।

बैठकअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनमा रहेका विपक्षी दलका नेताहरूलाई छलफलका लागि बोलाएका थिए ।

छलफलमा सभापति देउवासहित कांग्रेसका पदाधिकारीहरू, प्रमुख सचेतक रमेश लेखक, राप्रपा नेता बुद्धिमान तामाङ तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाही, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारीलगायतको सहभागिता थियो ।

सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको छ ।शनिबार शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेको छ । संसदीय समितिको कार्यदलको बैठक अहिले पनि जारी छ ।

अहिले कानून मन्त्री पदम गिरीसहित सत्ता र प्रतिपक्षी दलका प्रतिनिधिहरूबीच संसदीय समितिको कार्यादेशबारे छलफल भइरहेको छ । कार्यदेश बनाउने कार्यदलको बैठक जारी रहदा ११ बजे बस्ने प्रतिनिधि सभाको बैठक अनिश्चित भएको हो । ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  १ : ०५ बजे