२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

मन्त्रीहरुको सम्पत्ति सार्वजनिक, रघुबीर धनाड्य,नारायणकाजी गरिब मन्त्री



काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण मंगलबार सार्वजनिक भएको हो।

सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ। यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ। उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ।

त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ। पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ।

प्रधानमन्त्री प्रचण्डसँग पाँच तोला सुन रहेको र उक्त सम्पत्ति पनि पैतृक रहेको उल्लेख गरिएको छ।

प्रधानमन्त्री प्रचण्डसँग एभरेष्ट बैङ्क लिमिटेड, सिंहदरबारको खातामा २५ लाख नगद मौज्दात रहेको उल्लेख गरिएको छ। उनले यो रुपियाँ प्रतिनिधि सभा सदस्यको तलबभत्ता बापत आर्जन गरेको उल्लेख छ।

प्रधानमन्त्री प्रचण्डले आफूसँग कुनै ऋण, सवारी साधन, कृषि तथा पशुधन नरहेको पनि उल्लेख गरे ।

उपप्रधानमन्त्री महासेठको ४३ तोला सुन

सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठसँग ४३ तोला सुन रहेको छ। त्यस्तै साढे एक किलो चाँदी रहेको छ।

जनकपुर उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा गरी दुई वटा घर छन्। जनकपुरका जुलीकुमारी महतोको नाममा ३ कट्ठाको घर–घडेरी रहेको छ।

त्यस्तै, ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाममा बनेको घर छ। धनुषाको घर–घडेरी २०५५ सालमा र ललितपुरमा २०५६ सालमा खरिद गरेको जनाइएको छ।

पत्नी जुलीकुमारीकै नाममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ७ बिघा ३ कट्ठा, सिन्धुलीको कमलामाई नगरपालिकामा(४ कट्ठा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना, जनकपुर उपमहानगपालिका(९ नम्बर वडामा ३ कट्ठा ११ धुर जग्गा रहेको खुलाइएको छ। यी सबै जग्गा जमिन २०६५, २०५८, २०५६ र २०५४ सालमा खरिद गरेको उल्लेख गरिएको छ।

त्यस्तै, रघुवीर महासेठको नाममा जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मा १ बिघा १५ कट्ठा जमिन रहेको खुलाइएको छ। यो जग्गाजमिन खरिद तथा पैतृक सम्पत्तिबाट प्राप्त भएको उल्लेख गरिएको छ।

उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीरसँग नगद दुई करोड २५ रुपैयाँ नगद मौज्दात छ। यो रकम काठमाडौँ ललितपुरको साबिक सैंबु, ललितपुर महानगरपालिकाको कित्ता नम्बर २२६, २३१, २४४, ३९२, ३९३, ३९४ लगायतका जग्गाको बिक्री र पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख गरिएको छ।

सात थान औँठी, तीन थान सिक्री, तीन जोडी कानमा लगाउने टप, २ जोर सुनका बाला रहेको उल्लेख छ। यो सबै पैतृक सम्पत्ति, खरिद र उपहारबाट प्राप्त भएको खुलाइएको छ।

गृहमन्त्री पत्नीको ८० तोला सुन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाउनुभएको छ। यस्तै ग्लोबल आइएमई बैङ्कमा ५ हजार रुपियाँ, नेपाल बैङ्क लिमिटेडमा एक लाख ५ हजार रुपियाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाए ।

यस्तै श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गर्नुभएको छ । यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ।

यस्तै श्रीमती र आफ्नो आयबाट ४२ लाखको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति विवरण पेस गर्नुभएको छ।

परराष्ट्र मन्त्रीको खातामा १ लाख २२ हजार

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायकाजी श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको विवरणअनुसार मन्त्री श्रेष्ठको गोरखा सिरानचोक(८ मा करिब ३८ रोपनी पैतृक सम्पत्ति रहेको छ। त्यो पनि २०५८ सालमा पार्टीमा हस्तान्तरण घोषणा गरिएको र प्रक्रियामा रहेको श्रेष्ठले उल्लेख गर्नुभएको छ।

सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैङ्कको खातामा तलब सुविधाको १ लाख २२ हजार ९१८ रुपियाँ मौज्दात छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ७ : १७ बजे