काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।
नेपाल पत्रकार महासङ्घले गैर पत्रकारहरूलाई समेटेर पत्रकारहरूको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजीको माग गर्दै सोमवार सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयको मुलगेटमा तालाबन्दी गरेको हो ।
गत जेठ ८ गतेको सहमति विपरीत महासङ्घले गैर पत्रकारहरूलाई समेटेर महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्ने गरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याइएको त्यसको खारेजीको माग गर्दै केन्द्रीय कार्यालयमा तालाबन्दी लगाउनु परेको सङ्गठनका अध्यक्ष विश्वमणि सुदेवीले बताए ।
उनले सो सदस्यता न्यायोचित नहुँदासम्म आफूहरूले महासंघको आगामी निर्वाचनको काममा अवरोध ल्याउने खालको गतिविधिलाई अघि बढाउने चेतावनी पनि दिए। यता नेपाली कांग्रेसको सुवेच्छुक संगठन नेपाल प्रेस युनियनले समेत महासंघको पछिल्लो कदम प्रति आपत्ति जनाएको छ । जिल्ला तथा प्रदेश शाखाहरुबाट आएको सदस्य नाम काटिएको भन्दै आपत्ति जनाएको हो । शुद्धिकरणको नाममा ब्यवसायिक पत्रकार नाम कटौती गरी महासंघले गैरपत्रकारलाई सदस्यता दिएको आरोप लागेको छ ।





