काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘देश ठूलो कि जीबी राई ?’ भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् । जीबी राईलाई जतिसक्दो चाँडो पक्राउ गर्न उनले गृहमन्त्रीलाई आग्रह गरे ।
मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले ‘गिरीबन्धु टी–इस्टेटको फाइल कहिले खोल्ने रु’ भन्दै गृहमन्त्री लामिछानेलाई अर्को प्रश्न गरे । उनले ‘मेलम्ची, वाइडबडी, फोरजीलगायत ठूला अनियमितताको फाइल कहिले खोल्ने रु’ भन्दै थप प्रश्न गरे ।उनले भने, “नौ मिनेट, चार मिनेट, दुई मिनेट आकाशमा भए पनि, पातालमा भए पनि जीबी राई खोजेर ल्याउँछु भनेर गृहमन्त्रीले भन्नुभएको थियो । कहिले पक्रिनुहुन्छ गृहमन्त्रीले हामी हेरेर बसेका छौँ ।”
त्यस्तैगरी उनले गिरीबन्धु टी–इस्टेटबारेको सत्यतथ्य छानबिन गरेर सदनलाई जानकारी गराउन माग गरे । साथै, ‘कतिपटक गृहमन्त्री फेरिँदा निर्मला पन्तको हत्यारा पक्राउ गर्ने ?’ भन्दै शाहीले प्रश्न गरे ।





