२५ पुस २०८१, बिहिबार | Fri Jan 10 2025

सरकारले संसद्को न्यूनतम गरिमा र मर्यादा पनि कायम गर्ने नसक्नु खेदजनक : काँग्रेस



काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणको विषयमा सदनलाई जानकारी नदिएको भन्दै रुष्ट भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी नगराएको भन्दै आपत्ति जनाए ।

उनले सदनको नेता प्रधानमन्त्री भए पनि उनले सदनलाई बिर्सेर सदनबाट भाग्न खोजेका आरोप लगाए । उनले प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको एक साता हुँदा पनि सदनले भारत भ्रमणमा गएको र फर्किएको विषयमा अखबार पढेर थाहा पाउनुपर्ने दुर्भाग्यपूर्ण अवस्था भएको बताए । उनले प्रतिपक्ष दल धैर्यतापूर्वक कुरेर बसेको भन्दै प्रधानमन्त्री पाँच दिनसम्म सदन आउन नसकेको बताए । उनले प्रधानमन्त्रीले सदनको न्यूनतम गरिमा नराखेको भन्दै सदनदेखि डराएर भाग्न खोजेको आरोप लगाए । उनले राष्ट्र प्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्री विदेश भ्रमण गएको विषयमा सदनलाई जानकारी गराउन माग गरे ।

उनले भने,‘नेपालका कार्यकारी प्रमुख प्रधानमन्त्री भारतको लोकसभाको निर्वाचनपछि निर्वाचित प्रधानमन्त्रीलाई शुभकामना दिन जानु राम्रो हो । तर उनले भारत गएपछि संघीय संसद्लाई बिर्सनु भयो । हाम्रो एउटा संसदीय परम्परा छ । देशको कार्यकारी प्रमुख प्रधानमन्त्री कुनै पनि मन्त्री राष्ट्रको भ्रमणमा जाँदा किन जाने, के उद्देश्यले जाने,कति दिनका लागि जाने भनेर संसद्लाई जानकारी दिने बाध्यात्मक परम्परा छ । प्रधानमन्त्री एक हप्ता पहिला भारत भ्रमणमा जानु भएको छ । फर्केर आएको पनि पाँच दिन भइसकेको छ । नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष दल धैर्यता पूर्वक रचनात्मक प्रतिपक्षका रूपमा कुरेर बसेका थियौँ । प्रधानमन्त्री सदनमा उपस्थिति हुनु होला । भारत भ्रमणको बारेमा जानकारी गराउनु होला । सदनले थाहा पाउँछ भनेर कुरेर बसेका थियौँ । तर पाँच दिनसम्म प्रधानमन्त्री सदनमा आउन सक्नुभएन । मैले स्मरण गराउनुपर्ने भयो । प्रधानमन्त्री सदनको नेता हो । कार्यकारी प्रमुख हो । उहाँ विदेश भ्रमणमा जाँदा सदनले थाहा पाउन पत्रिका बढेर थाहा पाउनुपर्ने अवस्था छ । प्रतिपक्षका हैसियतले सदनको नेता हो भनेर स्मरण गराउने पर्ने मेरो सौभाग्य हो की सरकारको दुर्भाग्य हो । अर्को विषय राष्ट्र प्रमुख राष्ट्रपतिज्यू मुलुक बाहिर जानुभएको छ । राष्ट्रप्रमुख देश बाहिर जानुहुन्छ । सरकार प्रमुख प्रधानमन्त्री देशबाहिर जानुहुन्छ । तर सदनले राष्ट्रपति र प्रधानमन्त्री देश बाहिर गएको कुरा अखबार बढेर थाहा पाउनुपर्ने दुर्भाग्य भन्नुपर्छ । सरकारका कारणले संसद्को न्यूनतम गरिमा र मर्यादा पनि कायम गर्ने काम भएन । यो खेदजनक छ ।’

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  २ : ०५ बजे