९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयोः खेलकुदमन्त्री श्रेष्ठ



काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन्।

शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘वर्तमान राजनीतिक परिस्थितिमा एक पटक हामी जिम्मेवार नेताहरू सबै बसेर सल्लाह पनि भएको छ। सरकारलाई दिएको समर्थको बारेमा समीक्षा गर्नुपर्ने बेला भएको छ। सत्तारुढ दलहरूमा पनि यसलाई पुनरावलोकन र समीक्षा गर्ने कुरा चल्न थालेको छ,’ उनले भने।

उनले सरकार पुरातन र कर्मकाण्डी हिसावमै चलेको र आफूहरू खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताए। रास्वपामाथि अनावश्यक, अनाधिकृत हिसावले सम्झौता गर्न लगाए सरकारबाट बाहिरिने चेतावनी दिए।

‘हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौं। केही चिजमा अनावश्यक, अनाधिकृत हिसाबले कुनै किसिमको सम्झौता गर्नुपर्‍यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ,’ उनले भने, ‘हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौं।’

मन्त्री श्रेष्ठले रास्वपाले आशा र सम्भावना जीवित राखेर काम गरिरहेको बताए। उनले खेलकुद क्षेत्रलाई व्यवस्थित गर्नेकुरामा आफूहरूले काम पूरा गरेको बताए।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  १२ : ४९ बजे