ढोरपाटन । बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा–जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ ।
चालु आर्थिक वर्षमा संघीय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको ५० लाख गरी एक करोड बजेटमा सडक कालोपत्र गर्न थालिएको हो । कुश्मिसेरा बजारदेखि सर्कुवा, ब्यार्थला, बिनामारी, जैदीछिस्ती पुग्ने सडकको कालोपत्रसँगै स्तरोन्नतिको कामसमेत भइरहेको छ ।
आर्थिक वर्ष २०६२र०६३ सालमा ट्रयाक खुलेको सडक १८ वर्षपछि कालोपत्र हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।
जैमनी नगरपालिका–५ का वीरबहादुर खत्रीले लामो समयसम्म सडक कालोपत्र नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेपेको सुनाए ।
“यो बाटो खुलेको धेरै वर्ष भयो, जहिले सडक खुल्यो त्यस बेलादेखि नै गाडी चल्न थालेका हुन्, बाटो साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्न निकै समस्या थियो, ढिलै भए पनि सरकारले सडक पिच गर्न थालेकामा हामी खुसी छौँ ,” उनले भने ।
यस वर्ष कुश्मिसेरादेखि ४५० मिटरमाथि सम्म सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गरिनेछ । सडक कालोपत्रको जिम्मा पाएको कोन्डा कन्स्ट्रक्सनले हालसम्म करिब ९० प्रतिशत काम पूरा गरेको छ ।