हेटौँडा । बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको नेपाली काँग्रेसको अवरोधका कारण आजको प्रदेश सभा बैठक स्थगित गरिएको छ ।
आगामी आवको बजेटमाथि छलफल गर्न बिहान ११ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक झण्डै दुई घण्टा ढिलो गरी सुरु भएर स्थगित भएको हो । कांग्रेसले सरकारको बजेट र योजनामा सुशासन कायम गर्नुपर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट प्रणाली उल्लङ्घन गरी बजेट ल्याएको भन्दै बजेटको बिरोध गरेको छ ।
प्रदेश सभाको बैठक सुरु भएलगत्तै काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले प्रदेश सरकारले आगामी आवका लागि ल्याएको तारतम्य नमिलेको बताउँदै बजेट पुनर्लेखन गर्नुपर्ने माग गरे ।
उनले आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बजेट आर्थिक अनियमिततालाई प्रश्रय दिनेगरी छलकपट गरेर ल्याएको बताउँदै पहिले आफूहरुलाई पेनड्राइभमा दिएको बजेटको कार्यक्रमको विवरण र अहिले प्राप्त बजेट कार्यक्रम पुस्तिकामा फरक आएको बताए।
सुशासन प्रत्याभूति गर्नुपर्ने र नियमन गर्ने मन्त्रालयले मिचेर बजेट ल्याएको छ , “यस्तो बजेटको बारेमा छलफल हुन सक्दैन ।” उनले बजेट पुनर्लेखन नभएसम्म छलफल अगाडि नबढ्ने बताएपछि कांग्रेसका प्रदेश सभा सदस्यहरु सभामुख अगाडिको रोष्टमनजिक पुगेर घेराउ र नाराबाजी गरेका थिए ।
सभामुख भुवनकुमार पाठकले प्रदेश सभा सदस्यलाई आ–आफ्नो ठाउँमा बस्न पटक–पटक आग्रह गरे पनि नमानेपछि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।