२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

माओवादीले कारबाही गरेपछि नेसपाका सांसद फणिन्द्र देवकोटाले हाले सर्वोच्चमा रिट



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएपछि नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दिएका छन्।

देवकोटा २०७९ को निर्वाचनमा माओवादीको चुनाव चिह्न लिएर गोरखा क्षे‍त्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट देवकोटा निर्वाचित भएका थिए।

ह्विप उल्लंघन गरेर गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास मत दिएको भन्दै माओवादीले गत जेठ ३२ गते देवकोटालाई कारबाही गरेको थियो। सोही दिन सभामुख कृष्ण धितालले देवकोटामाथि कारबाहीको पत्र प्रदेश सभामा पढेर सुनाएका थिए।

देवकोटाले गत जेठ २८ गते मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएका थिए। देवकोटाको सहयोगमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका थिए।

आफू नेपाल समाजवादी पार्टीको नेता र प्रदेश सभा सदस्य रहेको दाबी गर्दै त्यसबेला देवकोटाले नेसपा केन्द्रकै निर्देशनअनुसार मुख्यमन्त्रीलाई विश्वास मत दिएको बताएका थिए।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १ : १२ बजे