काठमाडौँ । नेकपा ९एमाले० ले पुष्पकमल दाहाल सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयलाई उपलब्ध गराएको छ ।
आज एमालेले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको सूचना संसद सचिवालयलाई दिएको हो। यस अघि बुधबार एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।
‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा (एमाले)को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ,’ प्रमुख सचेतक महेश बर्तौलाले दिएको सूचनामा भनिएको छ, ‘सोको जानकारी सम्माननीय प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा हाम्रो दल नेकपा (एमाले) संसदमा प्रतिपक्षमा रहने व्यहोरा जानकारी गराइन्छ।’
गत असार १७ गते नेकपा (एमाले) र नेपाली कांग्रेसका बीचमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको थियो। उक्त समझदारीका अनुसार आगामी निर्वाचन सम्म एमालेका अध्यक्ष केपि शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाले पालैपालौ सरकारको नेतृत्व गर्नेछन् ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ताको सुचना संसद सचिवालयलाई बुुझाएसँगै प्रधानमन्त्री प्रचण्डले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने सबैधानिक ब्यवस्था छ ।