२२ पुस २०८१, सोमबार | Tue Jan 7 2025

संसद्का दुवै सदनको बैठक बस्दै



काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ भने प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने तालिका छ ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने कार्यसूची छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूची छ ।

अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्नेछन् ।

भन्सार महसुल विधेयक, २०८१ दफावार छलफल गर्न र पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउन प्रस्ताव गर्ने कार्यसूची छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ मा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गर्न र सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । भोली भने संसदमा प्रधानमन्त्रीले बिश्वासको मत लिने कार्यक्रम छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  १० : ५७ बजे