८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाइँदै



काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गर्नुभएको थियो । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तका ‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी, उहाँका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा पर्नुभएका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो, ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली ।’

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उहाँको सम्मान गर्नुपर्ने र उहाँको विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।

त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आजबिहान काठमाडौँको रानीपोखरीअगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगरप्रभातफेरी गर्ने कार्यक्रम गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १० : ४७ बजे