२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

जहाज दुर्घटनामा परेका १८ जना मृतक फेला, शव टिचिङ लगियो, क्याप्टेनको जीवितै उद्धार



काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको दुर्घटनामा परेका १९ यात्रुमध्ये १८ जनाको मृत्यु भएको छ । उद्धारकर्मीले दुर्घटनाक्षेत्रबाट १८ जनाको शव फेला पारेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले जनाएका छन् ।

संकलन गरिएको ती शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ । जहाजका क्याप्टेन मनिष शाक्यलाई भने उद्धार गरेर अस्पताल पठाइएको छ ।

उपचारका लागि शाक्यलाई केएमसी अस्पताल पठाइएको हो । जीवितै उद्धार गरिएका शाक्य बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । कलसाइन अल्फा एमई रहेको सौर्य एयरको जहाज आज केहीबेरअघि दुर्घटनामा परेको थियो । सौर्य एयरका चालक दलका सदस्य र प्राविधिक रहेका थिए । प्राविधिक चेकजाँचका लागि जहाज पोखरा लैजान लागिएको थियो । मृतक सबै सौर्यका कर्मचारी रहेको बताइएको छ ।

विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । आरिफ भने विदेशी नागरिक हुन्

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : ५१ बजे