काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार प्रकरणको फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने आरोप निराधार रहेको बताएका छन् ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा महामन्त्री शर्माले गृह मन्त्रालयले विभिन्न प्रकरणका फाइल खोलेको मिति प्रस्तुत गर्दै निवर्तमान गृहमन्त्री रवि लामिछानले फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने भ्रम छर्न खोजेको बताएका हुन् ।
उनले लामिछाने गृहमन्त्री हुँदा हल्लामात्रै गरेको भन्दै त्यसबीच कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयाबिरुद्धको फाइल खोजिएको र त्यो पनि निराधार पुष्टि भएको बताए ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी–स्टेट प्रकरणमा पनि छानबिन हुनुपर्ने र त्यसमा मुछिएकालाई छुट दिन नहुने उल्लेख गरे । महामन्त्री शर्माले भ्रष्टाचार गर्ने कसैलाई नछोड्न सरकारलाई आग्रह गरे ।
उनले भने,‘आशंका गरिएका दुईवटा फाइलहरु छन् । एउटा नक्कली भुटानी शरणार्थी प्रकरण र अर्को गिरिबन्धु जग्गा प्रकरण । गरिमामय संसदमा उभिएर म कसैलाई दोषी ठहर्याउन चाँहदैन र कसैलाई निर्दोष करार गर्न पनि चाहन्न । केवल यति मात्र भन्न चाहन्छु देशको मुहार फेर्न संकल्प लिएर खुलेका दलहरु हुन् कांग्रेस र एमाले । यी दलहरुले सरकारको नेतृत्व गरिरहेको बेला इमान्दार भएर सबैको अनुसन्धान हुनुपर्छ, । आज म यो जिम्मेवार संसदमा उभिएर गिरिबन्धु जग्गाको ७० प्रतिशत जग्गा कांग्रेसले बेचेर खाएको हो भन्ने आरोप छ । तर यो प्रकरणमा कांग्रेसका को व्यक्ति हुन् छानबिनको दायरामा ल्याओस् ।’
उनले सरकारले शोकमा दुई खालको व्यवहार गरेको बताए । उनले आगामी दिनमा शोकमा सरकारले फरक व्यवहार नगरोस् भन्दै ध्यानाकार्षण गराए ।
उनले भने, ‘सौर्य एयरको जहाज दुर्घटनाको भोलिपल्ट हामीले राष्ट्रिय झण्डा आधा झुकायौं । २०७९ माघ १ मा पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भयो । यसको भोलिपल्ट हामीले राष्ट्रिय शोकको घोषणा गर्यौं । एउटै प्रकृतिको दुर्घटना, तर शोकमा हामीले दुई खालको व्यवहार गर्यौं । दुर्घटना र मृत्यु सबै दुःखद् हुन्छन् । यसबीचमा चौतर्फी रुपमा ध्यानाकर्षण नागरिक पंक्तिबाट गराइएको छ । त्रिशुलीमा पनि बस खस्यो तर, न हामीले आधा झण्डा झुकायौं न कुनै शोकको घोषणा गर्यौं ।’