काठमाडौं । ललितपुरको पुल्चोकस्थित मन्त्रीको निवासलाई सांसद क्वाटरमा रूपान्तरण गर्न प्रस्ताव गरिएको छ । आज राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कांग्रृेस सांसद सरिता प्रसाईले उक्त प्रस्ताव गरेका हुन् ।
प्रसाईंले तत्कालीन समयमा सुवास नेम्वाङ सभामुख हुँदा मन्त्रीको निवास सारिएपछि त्यसलाई सांसद क्वाटरमा परिणत गर्ने समझदारी भएको उल्लेख गरिन् । उक्त समझदारी कार्यान्वयन गर्न उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी हुन् ।
“योभन्दा अघि हामीले सुवास नेम्वाङ सभामुख हुँदा कुरा उठाएका थियौँ, पुल्चोकको मन्त्री क्वाटर भैँसेपाटीमा सर्ने भएपछि पुल्चोकको क्वाटर सांसदहरूको आवास बनाऔँ भनेर,” उनले भनिन्, “अहिले पुल्चोकको आवासबाट मन्त्री सरेपछि त्यो खाली भएको छ ।”
उनले प्रधानमन्त्री महत्त्वपूर्ण निर्णयका निम्ति सक्षम भएको बताइन् । “प्रधानमन्त्री बोल्ड डिसिजन गर्न सक्नुहुन्छ, त्यसकारण पनि मैले यो कुरा राखेको हो,” सांसद प्रसाईंले भनिन्, “त्यो पुल्चोकलाई सांसदहरूको आवास बनाऔँ भनेर प्रस्ताव गर्न चाहन्छु ।”





