८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

भदौ ७ गतेसम्मका लागि स्थगित भयो काँग्रेस बैठक



काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक भदौ ७ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ।

पार्टीको जारी बैठकमा केन्द्रीय समितिका सदस्यहरुले बोल्ने क्रम नसकिएकाले बैठक स्थगित गरिएको हो ।

भोलि प्रतिनिधि सभाको बैठकमा टिआरसी सम्बन्धि विधेयक पेश हुने र त्यसमा छलफल हुने भएकोले काँग्रेसले जारी केन्द्रीय समितिको बैठकलाई स्थगित गरेको पार्टीका कार्यालय सचिव प्रेम केसीले जानकारी दिए ।

काँग्रेसको पूर्व निर्धारित कार्यक्रम अनुसार आज साउन २८ गते केन्द्रीय समितिको बैठक सक्ने कार्यतालिका थियो ।

काँग्रेसले बैठकमा पार्टीको महासमितिको बैठकले पारित गरेका प्रस्तावहरु अनुमोदन गर्ने मुल एजेण्डा थियो। तर बैठकमा नेताहरुले पार्टीको भावी कार्यादेश र सरकार संचालन सम्बन्धि विभिन्न विषयमा चासो राखेका थिए ।

यसैगरी नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्व.सुशील कोइरालाको ८५ औँ जन्मजयन्तीको अवसरमा पार्टीको बैठकले हार्दिक श्रद्धासुमनसहित कोइरालाको स्मरण गरेको छ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ७ : ५१ बजे