धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिदै छन् । यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएका शाहले आज प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन् ।
मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो ३ बजेका लागि प्रदेश सभाको बैठक डाकिएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिने सम्बन्धीको पत्र प्राप्त भए बमोजिम आवश्यक तयारी गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए ।
नेकपा एमालेको समर्थनमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाहलाई ३० दिनभित्र विश्वासको मत लिई सक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति सहभागी छ ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकारलाई बहुमतका लागि कम्तीमा २७ जनाको समर्थन आवश्यक पर्छ । यहाँ काँग्रेस १८, एमाले ११, माओवादी केन्द्र (सभामुख सहित) ११, नागरिक उन्मुक्ति ७, एकीकृत समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन् ।
सत्ता साझेदार दल काँग्रेस, एमाले र नागरिक उन्मुक्तिका गरि ३६ जना प्रदेश सभा सदस्य रहेकाले मुख्यमन्त्री शाहले विश्वासको मत पाउने प्रायस् निश्चित छ ।
यसैबिच नेकपा एकीकृत समाजवादीले तटस्थमा बस्ने जनाएको छ । एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ बहादुर सोडारीले आज मुख्यमन्त्रीले लिने विश्वासको मतको प्रक्रियामा तटस्थ बस्ने निर्णय भएको बताए ।