८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

हिंसात्मक द्वन्द्व शब्दमै प्रचण्डको आपत्ति, उनले भने-‘माओवादी जनयुद्ध’ भन्नु पर्‍यो भने जातै जाला जस्तो गर्छन’



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध शब्द सुन्न नचाहेको देख्दा छक्क परेको बताएका छन् ।

टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिँदै बुधबार अध्यक्ष प्रचण्डले भने ‘हिंसात्मक द्धन्द्ध भनेर लेखेको भनेको देख्छु, माओवादी जनयुद्ध भनेर लेख्न र बोल्न पर्दा जातै जान्छ जस्तो गर्छन, माओवादी जनयुद्ध नभएको भए यो संसारकै नयाँ मोडेलको शान्ति प्रक्रिया सम्भव हुने थिएन ।’

उनले नेता पुर्णबहादुर खडका नेतृत्वको समितिले नै माओवादी जनयुद्ध भनेर उल्लेख गरेको पनि स्मरण गराएका छन् । सविधानसभाबाट बनेको संविधान ९अनुसूची० मा नै जनयुद्ध शब्द लेखिएको उल्लेख गर्दै उनले नेताहरुको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष प्रचण्डले दुईदलीय प्रतिस्पर्धातिर जान खोजेको त होइन भनेर कांग्रेस र एमालेतिर संकेत गर्दै आशंका गरे । छलफलमा सुरुमा बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बहुदलीय प्रतिस्पर्धाको पक्षमा रहेको बताएका थिए ।

प्रचण्डले भने, ‘केदेखि तर्सिएको, केदेखि पनि झस्कन्छ भनेझैं उहाँले हुन्छ भनेको हुन्न बुझ्नुपर्ने, हुन्न भनेपछि हुन्छ बुझ्नुपर्ने भएकाले बडो आशंकाको स्थिति कायम छ । आज उहाँले जे बोल्नुभएको छ, त्यो सही साबित होस् ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबाट समाजमा अराजकता फैलाउने प्रवृत्ति देखिएको भन्दै यसको प्रतिवाद गर्न लोकतन्त्रमा विश्वास गर्नेहरु समझदारीमा आउनुपर्ने प्रचण्डले बताए । उनले अगाडि भने, संविधानको रक्षा, प्राप्त उपलब्धीको र रक्षा लोकतन्त्रको सुदृढीकरढणका लागि सबैसँग मिलेर जान तयार छु ।’

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ४ : १० बजे