काठमाडौँ। संघीय संसद्अन्तर्गत आज आधा दर्जन संसदीय समितिको बैठक बस्दै छ ।
अर्थ समितिको बैठक बिहान ११ बजेदेखी जारी छ । बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल हुनेछ । छलफलका लागि समितिले महान्यायाधिवक्ता र नेपाल राष्ट्र बैंकका गभर्नरलाई बोलाएको हो।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि अहिले बसिरहेको छ । बैठकमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुखिकिकरण तालिम प्रदायक संस्थामा वैदेशिक रोजगार विभागबाट भएको अनुगमन तथा कारबाहीका सम्बन्धमा छलफल हुनेछ ।
वैदेशिक रोजगार संस्थाहरूको नवीकरण प्रकृया तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निवेदनमाथि छलफल, श्रमसँग सम्बन्धित कानुन समसामयिक बनाउने सम्बन्धमा मन्त्रालयको तयारीका सम्बन्धमा छलफल गर्ने बैठकको कार्यसूची छ ।
हवाइ टिकट आपूर्तिमा भएको आर्थिक अनियमितताका सम्बन्धमा ईपीएसमार्फत् दक्षिण कोरिया जाने कामदारहरूबाट प्राप्त उजुरीमाथि छलफल हुनेछ ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि आज बस्दै छ । कार्यसूची विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ताहरूसँग छलफल गर्नेछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठकमा सामाजिक परिचालिकाहरूको व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेस गरेर छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो २ बजे बस्नेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सरकारको नीति तथा कार्यक्रम २०८०र०८१ र बजेट वक्तव्यमा व्यक्त वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयको कार्यान्वयनको अवस्था र उपलब्धीका सम्बन्धमा मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ । बिहान ११ बजे बस्ने बैठकमा समितिले वन तथा वातावरणमन्त्री र सचिवलाई बोलाएको छ ।