८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

अस्पतालका उपकरण मर्मत गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई



काठमाडौं । सरकारले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा स्वास्थ्य मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको हो । यसविषयमा मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको मन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ ।

मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा। मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका छन् । अस्पतालमा बिग्रेका उपकरण मर्मतका लागि सघाउन मन्त्री पौडेलले केही दिनअघि पुनसँग आग्रह गरेका थिए ।

अब केन्द्रले हाल मन्त्रालय अन्तर्गतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ। त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरूले मर्मत गर्नेछन् ।

हस्ताक्षर कार्यक्रममा मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गरे ।

केन्द्रका प्रमुख पुनले राज्यले आफूहरूलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको भन्दै खुसी प्रकट गरेका छन्। उनले यसले आफूहरुलाई हौसला दिएको भन्दै मन्त्री पौडेललाई धन्यवाद दिए।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  ३ : १९ बजे