काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा.मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेमाथि गम्भीर प्रश्न उठाएका छन् । ढकालले लामिछानेले ठगि, भ्रष्टाचार, अपराध, किर्ते समेत गरेको आरोप लगाएका छन् । पार्टीको साधारण सदस्यबाट मुक्त किन नगर्ने भन्दै अन्तिमपटक सोधिएको स्पष्टीकरणको जवाफमा उनले सभापतिका कमी–कमजोरीमा प्रश्न उठाउनु पार्टीविरुद्ध लाग्नु नभई शुद्धीकरणको प्रयास भएको बताएका छन् ।
“।।तपाईं रवि लामिछानेको निरंकुशता, व्यक्तिकेन्द्रित व्यवहार र सोचबाट जोगाउन लागिपरेको छु । तपाईंउपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टीविरुद्ध लाग्नु होइन,” जवाफमा मुकुलले भनेका छन्, “प्रश्नका माध्यमबाट पार्टी शुद्धीकरण गर्न पाउने नेपालको संविधानले नै दिएको मेरो लोकतान्त्रिक र राजनीतिक अधिकार हो ।”
उनले लामिछानेले सहकारीको रकम ठगी र भ्रष्टाचार गरेको आरोप लगाएका छन् । “तपाईं रवि लामिछानेले सहकारीमा ठगी गर्नुभएको छ, तपाईंले मन्त्री हुँदा भ्रष्टाचार गर्नुभएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु,” मुकुलले भनेका छन्, “सहकारी मुद्दामा तपाईं ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्नुहुन्छ । भ्रष्टाचार मुद्दामा पनि जेल जान सक्नुहुन्छ । राहदानी दुरुपयोगमा तपाईं कहिले निर्वाचनमा भाग लिन पाउनु हुन्न ।”
उनले लामिछाने यीसँगै अरू धेरै ठाउँमा किर्ते, ठगीमा संलग्न रहेका दाबी समेत गरेका छन् । त्यस्तै उनले लामिछानेमाथि आफुले लगाएका सबै आरोपहरु प्रमाणित गर्न सक्ने दाबी समेत गरेका छन् ।