२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

टेलिग्रामका संस्थापक तथा सिइओ डुरोव पक्राउ



काठमाडौं । टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी निर्दशक पवेल डुरोव पक्राउ परेका छन्।

शनिबार साँझ निजी जहाजबाट फ्रान्सको बुर्जेट एअरपोर्टमा अवतरण गरेका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो।

उनलाई टेलिग्रामसँग सम्बन्धित मुद्दामा पक्राउ गरिएको फ्रान्सेली अखबारहरुलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले लेखेको छ।

डुरोव रूसी(फ्रान्सेली अर्बपति हुन्। उनको पक्राउपछि फ्रान्सस्थित रूसी राजदूतावासले तत्काल समन्वय गर्ने भनेको रूसी समाचार संस्था तासले उल्लेख गरेको छ।

पक्राउ परेका डुरोवमाथि आइतबारदेखि अनुसन्धान सूरू गरिने बताइएको छ।

युरोपेली मुलुकहरूमा टेलिग्राम अझै लोकप्रिय छ। अहिलेसम्म यसका १ बिलियन नजिक प्रयोगकर्ताहरू रहेको बताइएको छ।

यो फेसबुक, युट्युब, व्हाट्सएप, इन्स्टाग्राम, टिकटक र विच्याट पछिको प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमध्ये एक हो।

डुरोव पक्राउ परेकोबारे टेलिग्रामले भने अहिलेसम्म केही बताएको छैन।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  १२ : २१ बजे