काठमाडौँ । नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी करिब तीन खर्ब रुपियाँ पुग्न लागेको छ । आर्थिक वर्ष २०७९र८० को अन्त्यसम्ममा नेपालमा दुई खर्ब ९५ अर्ब ५० करोड रुपियाँ कुल प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो ।
नेपाल राष्ट्र बैङ्क अन्तर्गतको आर्थिक अनुसन्धान विभागले शुक्रबार सार्वजनिक गरेको ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९र८०’ अनुसार कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजी ५२.८ प्रतिशत, सञ्चिती ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ । प्रतिवेदन अनुसार नेपालमा ५८ देशबाट प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
जलविद्युत् क्षेत्रमा बढी
औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत् क्षेत्रमा सबैभन्दा धेरै लगानी भित्रिएको प्रतिवेदनले देखाएको छ । जस अनुसार जलविद्युत्मा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९।४ प्रतिशत वैदेशिक लगानी रहेको छ । यसै गरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीमा लगानी भित्रिएको छ ।