ओखलढुङ्गामा । ओखलढुङ्गामा डेंगु सङ्क्रमण दर बढिरहेको छ । जिल्लामा हालसम्म ५४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकारी विनोद पोखरेलका अनुसार २६ पुरुष र २८ महिला गरी ५४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी सूचना अधिकारी पोखरेलले दिए ।
सङ्क्रमण रोकथामका लागि मानेभन्ज्याङ गाउँपालिको विभिन्न क्षेत्रमा लार्भा नष्ट र विषादी छर्किन अभियान सञ्चालन गरिएको थियो । ओखलढुङ्गा सामुदायिक अस्पतालमा डेंगु परीक्षण र उपचार भइरहेको छ ।
डेंगु सङ्क्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नेबारे सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले नागरिकलाई आग्रह गरेको छ । लामखुट्टेको टोकाइबाट बच्न घर, कार्यालय वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न र पूरा बाहुला भएको कपडा लगाउन आग्रह गरिएको छ ।
डेंगु लागेको शङ्का लागेमा वा अत्याधिक टाउको दुख्ने, ज्वरो आउने, जोर्नी दुख्ने लगायतका स्वास्थ्य समस्या भएमा तत्काल परीक्षण गराएर उपचार गराउन स्वास्थ्य कार्यायले आग्रह गरेको छ ।