८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

अर्थतन्त्रमा सुधारको सङ्केत, सरकारको आम्दानी र खर्च दुवै बढ्यो



काठमाडौँ । आर्थिक गतिविधि सुस्ताउँदा दबाबमा परेको सरकारी खातामा सुधार आउन थालेको छ । चालु आर्थिक वर्ष २०८१र८२ को दुई महिना पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चमा भएको बढोत्तरीले अर्थतन्त्रमा सुधारका सङ्केत देखाएको हो ।

सरकारको आम्दानी र खर्चको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौसम्म सरकारले एक खर्ब ६६ अर्ब ३८ करोड रुपियाँ राजस्व आम्दानी गरेको छ । जसमध्ये कर राजस्व एक खर्ब ४५ अर्ब १९ करोड रुपियाँ र गैरकर राजस्व २१ अर्ब १९ करोड रुपियाँ रहेको छ । कुल राजस्व आम्दानी चालु आवको लक्ष्यको तुलनामा ११।७२ प्रतिशत हुन आउँछ ।

गत आवको दुई महिनासम्म सरकारको कुल राजस्व आम्दानी एक खर्ब ४१ अर्ब सात करोड रुपियाँ थियो । यसको तुलनामा चालु आवमा सरकारको कुल राजस्व २५ अर्ब ३० करोड रुपियाँले बढेको कार्यालयको विवरणले देखाउँछ । गत आवको सोही अवधिमा कर राजस्व एक खर्ब २७ अर्ब ९५ करोड रुपियाँ थियो । यस हिसाबले चालु आवमा कर राजस्व १७ अर्ब रुपियाँले बढेको देखिन्छ । त्यस्तै २०८० भदौमा १३ अर्ब १२ करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएकोमा यस वर्ष आठ अर्ब रुपियाँले बढेको देखिन्छ । आर्थिक गतिविधिमा सुधार आउँदा त्यसको प्रत्यक्ष प्रभाव सरकारको कर राजस्वमा देखिन्छ ।

अन्य प्राप्तसहित सरकारको कुल आम्दानी भने चालु आवको दुई महिनामा एक खर्ब ६९ अर्ब ५१ करोड रुपियाँ पुगेको कार्यालयले जनाएको छ । जुन लक्ष्यको तुलनामा ११।५२ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा अन्य प्राप्तिसहित सरकारको आम्दानी एक खर्ब ५४ अर्ब ४२ करोड रुपियाँ थियो । गत आवमा सरकारको अन्य प्राप्ति उठौतीमा सुधार आउँदा समग्र आम्दानी केहीबढेको देखिन्छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १० : ०९ बजे