१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री 



बोस्टन । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई टुंगो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन आइपुगेका प्रधानमन्त्री ओलीले हावर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । हालै सदनबाट पारित संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रियाले कानुनी उपचारलगायत पीडितको अधिकार र हितको रक्षा गर्ने स्पष्ट गरे ।

दुई ठूला दलको सहभागितामा आफ्नो नेतृत्वको सरकार बनेपछि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगसँग सम्बन्धित विधेयक सदनबाट लगभग सर्वसहमतिका आधारमा पारित भएको बताए ।

उनले विगतमा गठन भएका आयोगले गर्न बाँकी रहेका काम अबका दिनमा अगाडि बढ्ने जनाकारी दिए । रासस

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १२ : ४७ बजे