२३ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

यस्तो छ चीनका लागि प्रस्तावित राजदूत ओलीको कार्ययोजना



काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकमा चीनका लागि प्रस्तावित राजदूत डा.कृष्णप्रसाद ओलीले आफ्नो कार्ययोजना पेस गरेका छन् ।

आइतबार बसेको समितिको बैठकमा प्रस्तावित राजदूत ओलीले आफ्नो कार्ययोजना पेस गरेका हुन् । नेपालको स्वाधीनता, राष्ट्रिय सुरक्षा, अक्षुण्णता, दिगो शान्तिका लागि कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखेर अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग र सहकार्य अघि बढाउने लगायतका उनको कार्ययोजनामा उल्लेख छ ।

यसैगरी अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा चीनका तर्फबाट प्रतिनिधित्व गर्ने पदाधिकारीहरूसँग नेपाललाई सहयोग पुर्याउन समन्वय र सहकार्य गर्ने पनि उनको कार्ययोजनामा उल्लेख छ । त्यस्तै चीन सरकारले अगाडि सारेको परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ ९बीआरआई० बारे सरकारले लिने नीति कार्यान्वयन गर्ने उल्लेख गरेका छन् ।

उनले भने, ’बीआरआईमा हामी कसरी जाने भनेर सरकारको जे निर्णय हुन्छ, राजदूतले त्यसरी नै जाने हो ।’ चीन सरकारको ऋणमा निर्माण गरिएका पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्नेबारे पनि सांसदहरूले प्रश्न गरेका थिए ।

जवाफमा ओलीले सरकारको तहबाट नै उक्त कार्य भइरहेकाले आफूले गर्नुपर्ने भूमिका निर्वाह गर्ने बताए । त्यसैगरी चिनियाँ पर्यटकलाई नेपाल भित्राउनका लागि आफूले पहल गर्ने पनि उनले बताए ।

हालसम्म चीनबाट नेपाल आउने पर्यटकको संख्या बढीमा १ लाख ४७ हजार मात्रै रहेको उल्लेख गर्दै ओलीले आगामी दिनमा १० लाखसम्म पर्यटक ल्याउन सके नेपालका लागि ठूलो उपलब्धि हुने बताए ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ३ : ४३ बजे