काठमाडौं । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपालले अमेरिकालाई सुपर ओभरमा हराएको छ । आइतबार बिहान भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले तीन खेलको सिरिजमा २–० को अग्रता लिएको हो ।अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले ४ बलमा भेटायो ।
त्यसअघि नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । अमेरिकाका आन्द्रेस गौसले सबैभन्दा धेरै ६२ रन बनाए । नेपालका करण केसीले ३, सोमपाल कामीले २ तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
यसअघि डालासमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो । नेपालका कुशल भुर्तेलले नटआउट ९२ रन बनाए । भुर्तेलले ५४ बल खेल्दै ६ छक्का र ७ चौका प्रहार गरे । अमेरिकाका जसदीप सिंह र नोस्थुश केन्जिगेले समान २ विकेट लिए ।