विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङ शाखाले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको जिकिर गरे ।
उनले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने धारणा राखे । मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको उनको भनाइ थियो ।
नेता कोइरालाले मुलुकको समग्र विकासका लागि संघीयता आवश्यक रहेको बताउँदै संघीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राखे ।
उनले दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको पनि बताए ।
अर्को प्रसंगमा उनले नेपालको परराष्ट्र नीतिमा एकरूपता हुनुपर्ने धारणा राखे ।