१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

बक्यौता नतिर्ने उद्योगीको पक्षमा नलाग्न ऊर्जामन्त्रीलाई प्राधिकरण कर्मचारी संगठनको चेतावनी



काठमाडौं । बक्यौता नतिर्ने उद्योगीको पक्षमा नलाग्न ऊर्जामन्त्रीलाई नेपाल विद्युत् प्राधिकरणका कर्मचारी संगठनले चेतावनी दिएका छन् । देशमा चरम विद्युत् अभाव भई आमजनता अन्धकारमा रहेको अवस्थामा पनि विद्युत् उपभोग गरेका उद्योगीहरूको पक्षमा लागेको भन्दै कर्मचारी संगठनले सो चेतावनी दिएका हुन् ।

प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत् सप्लाई लिई आफ्ना संरचनाहरू सञ्चालन गरेको तर त्यसरी सप्लाई लिएवापत विद्युत् महसुलमा लाग्ने अतिरिक्त शुल्क तिर्न अनावश्यक विवाद गरेको संगठनको आरोप छ ।

विवाद सृजना गरेर अड्डा, अदालत तथा विभिन्न शक्ति केन्द्रहरूको प्रयोग गरीरगराई महसुल नतिर्न गरेका प्रयासप्रति विगतदेखि नै गम्भीर ध्यानाकर्षण भएको संगठनले जनाएको छ ।

“६० दिनभन्दा बढी समय विद्युत् महसुल नतिर्ने आम विद्युत् उपभोक्ताहरूको लाइन काटेर महसुल असुल उपर गरिँदै आएको भएता पनि अनावश्यक विवाद खडा गर्ने उपरोक्त ग्राहकहरूको विगतमा काटिएको लाइन विभिन्न निर्णयहरूको आधारमा निश्चित म्यादभित्र महसुल भुक्तानी गर्ने गरी जोडिँदै आएको थियो । यद्यपि, अझै पनि त्यस्ता ग्राहकहरूले महसुल नतिरेको र नतिर्नको लागि ऐन, नियम र कानुन बाहेकका अनेक बहानाबाजी र प्राधिकरणको मानमर्दन गरी थप विवाद सिर्जना गरिरहेको कुराप्रति हाम्रो गम्भीर आपत्ति छ” विज्ञप्तिमा भनिएको छ ।

अन्यथा डेडिकेटेड फिडर तथा टंकलाइनको विद्युत् महसुल बक्यौता रकम नबुझाइ लाइन जोडिएमा सर्वसाधारण जनतालाई समेत सुसूचित गराई संघर्षका कार्यक्रमहरू दिन बाध्य हुने संगठनले चेतावनी दिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  २ : ४९ बजे