११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

छठ पर्व आजदेखि विधिपूर्वक सुरु



महोत्तरी । मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो ।

जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज व्रतीहरुले नहाय खाय अर्थात् नुहाएर खाने गर्दछ । आज व्रतालुले जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाइनेछ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ११ : २७ बजे