८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

अब कसैले अनाथ भएँ भन्नु पर्दैन, सरकार साथमा छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा मंगलबार शुभकामना दिँदै उनले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढंगले सञ्चालन र त्यसलाई पूर्णता दिन सरकारको ध्यान केन्द्रित भएको बताए ।

“अब कसैले अनाथ भएँ भन्नु पर्दैन, अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन । मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन,” प्रधानमन्त्रीले शुभकामनामा भनेका छन्, “त्यसका निम्ति राज्य छ र सरकार छ ।”

वर्तमान सरकार सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिँडेको जनताको सरकार भएको उनले उल्लेख गरेका छन् । देश र जनताप्रति निष्ठा र प्रतिबद्धता भएको वर्तमान सरकारले कसैलाई पनि एक्लो र असहाय हुन नदिने उनले स्पष्ट पारेका छन् । उनले कसैलाई पनि एक्लो महसुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह समेत गरेका छन् ।

नेपालको संविधानमा सामाजिक सुरक्षालाई नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरिएको उनले जनाएका छन् । उनले संविधानको मर्मअनुसार नै सामाजिक सुरक्षासम्बन्धी अवधारणालाई व्यापक बनाउँदै लगिएको स्पष्ट पारे । “ती अवधारणाअनुसारका कार्ययोजनाहरू तयार गर्नु, तिनलाई नीति, कार्यक्रम र बजेटमा सामेल गर्नु आवश्यक छ र हामी त्यसलाई क्रमशः अगाडि बढाइरहेका छौँ,” प्रधानमन्त्रीले भनेका छन् ।

वि।सं। २०५१ मा नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को तत्कालीन सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा ज्येष्ठ नागरिक, एकल महिला, असहाय र अशक्त आदिलाई समेट्ने नीति लिएको उनले स्मरण गरे । उनले त्यसपछि मात्र लोककल्याकारी राज्य, सामाजिक न्याय, समानता र सामाजिक सुरक्षाको अवधारणाले मूर्त रूप लिन थालेको बताए ।

“यहाँसम्म आइपुग्दा हामीले सामाजिक सुरक्षालाई हाम्रो सामाजिक जीवन, राज्य र समाज सञ्चालनको एउटा अभिन्न अंगका रूपमा बुझिरहेका छौँ र तीअनुसारको व्यवहार गरिरहेका छौँ,” प्रधानमन्त्री ओलीले भनेका छन् ।

हरेक नागरिक आफूले पनि सामाजिक सुरक्षाको सन्दर्भमा योगदान गर्नुपर्छ भनेर सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणा अघि बढाएको उनले जानकारी दिए । रासस

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ११ : २० बजे