८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

 ‘भीभीआईपी’काे बिदाइ र स्वागतमा उपस्थित हुनुपर्ने पदाधिकारीको सङ्ख्या घटाइयो, प्रधानमन्त्रीको बिदाइमा दुई जना मन्त्री मात्रै



काठमाण्डौं । विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरिएको छ ।

मन्त्रीपरिषद्बाट पहिलो संशोधन भएको उक्त कार्यविधि सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट औपचारिक रुपमा कार्यान्वयनमा आइरहेको गृह मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदारआउँदा बिदाइ र स्वागतमा अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने पदाधिकारीको सङ्ख्या कटौती गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

“ भीभीआईपी विदेश भ्रमणमा जाँदा विमानस्थलमा पदाधिकारीहरू उपस्थित हुनुपर्ने व्यवस्था लामो समयदेखि रहेपनि गृहमन्त्रीको पदाधिकारी उपस्थित हुनुपर्ने सङ्ख्या घटाउने प्रस्ताव चार दिन अघि मन्त्रीपरिषद्ले कार्यविधिको पहिलो संशोधन स्वीकृत गरेको छ ।” सूचना अधिकारी तामाङले भने“ भीभीआईपीको स्वागत र बिदाइ व्यवस्थित र प्रभावकारी बनाउन संशोधन गरिएको हो ।”

प्रस्ताव संशोधित कार्यविधिअनुसार राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीसहित १४ जना पदाधिकारी उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किदा उपराष्ट्रपति सहित २३ जना पदाधिकारी विमानस्थलमा उपस्थित हुने गरेका थिए ।

“ अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्ति विदेश भ्रमण जाँदा र फर्किदा गरिने स्वागत र बिदाइलाई प्रभावकारी बनाउन कार्यविधि संशोधन गरिएको छ ।” उनले भने–“ सुरक्षा व्यवस्थापन कार्यविधि–२०८०, पहिलो संशोधन भएको हो ।”

त्यसैगरी राष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधिकारीको सङ्ख्या पनि घटाइएको छ ।

मिनी कारकेडसम्म यसअघि उपराष्ट्रपतिसहित १३ जना पदाधिकारी उपस्थित हुने व्यवस्थालाई कटौती गरेर ९ जना पदाधिकारीमा सीमित गरिएको छ ।

त्यसैगरी नयाँ कार्यविधि अनुसार अब उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा प्रधानमन्त्रीसहित १२ जना पदाधिकारी उपस्थित हुनुपर्ने व्यवस्थालाई संशोधन गर्दै सो सङ्ख्या घटाएर प्रधानमन्त्रीसहित ७ जना उपस्थित हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

त्यस्तै, उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधिकारी ७ बाट घटाएर ४ पुर्‍याइएको छ । अब उक्त चार जनामा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, उपराष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल उपस्थित हुनेछन् ।

त्यसैगरी संशोधित कार्यविधि अनुसार प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा विमानस्थलमा अब कार्यवाहक प्रधानमन्त्रीसहित १२ जना पदाधिकारी उपस्थित हुनेछन् ।

प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा यसअघि कार्यवाहक प्रधानमन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीसम्म गरी २१ जना पदाधिकारी विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुनुपर्ने व्यवस्था थियो ।

त्यस्तै प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म कार्यवाहक प्रधानमन्त्रीसहित ६ जना पदाधिकारी उपस्थित हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि उक्त स्थानसम्म कार्यवाहक प्रधानमन्त्रीसहित ११ जना उपस्थित हुने व्यवस्था थियो ।

नयाँ कार्यविधिअनुसार अब प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष विमानस्थल जानुपर्ने छैन । यसअघि राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा सभामुख र राष्ट्रिय सभा अध्यक्ष विमानस्थल पुग्नुपर्ने व्यवस्था थियो । आज प्रधानमन्त्रीको चीनको भ्रमणको बिदाई कार्यक्रममा गहृमन्त्री रमेश लेखक र उपपधानमन्त्री प्रकाशमान सिंह बिमानस्थल पुगेका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ११ : ५५ बजे