८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

कांग्रेसको उपनिर्वाचन प्रारम्भिक समीक्षा– प्राप्त मत कांग्रेसको उत्साहवर्धक संकेत



काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले उपनिर्वाचनबाट प्राप्त मत परिणामलाई उत्साहवर्धक संकेत भनेको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी उपनिर्वाचनबाट पहिलो दलको हैसियत पाएको भन्दै मतदाताप्रति आभार दिएका छन् ।

शर्माले भनेका छन्, “पहिलो दलका रूपमा नेपाली कांग्रेसलाई विजयी गराउनु हुने सबै आदरणीय मतदातामा सम्मान र आभार प्रकट गर्दै रिक्त ४४ स्थानका नवनिर्वाचित जनप्रतिनिधिमा नेपाली कांग्रेस एकमुष्ट बधाई ज्ञापन गर्दछ ।”

उनले उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मतमार्फत प्राप्त सन्देशको विश्लेषण र समग्र समीक्षा भने पछि गर्ने भन्दै ‘एक्लै लडेर प्राप्त स्थान’लाई उत्साहवर्धक संकेत भनेका छन् । उनले मुख्य दलप्रति नागरिकको विश्वास अझ बलियो भएको सन्देश पनि उपनिर्वाचनले दिएको बताएका छन् ।

“मुलतः मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणालीमार्फत प्रगतिको दिशामा प्राप्त ऐक्यबद्धताका रूपमा लिएर तिनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी छ,” विज्ञप्तिमा भनिएको छ । रिक्त भएका ४४ मध्ये १९ स्थानमा कांग्रेसका उमेदवार निर्वाचित भएको भन्दै ०७९ मा गठबन्धनबाट लडेर प्राप्त सिटभन्दा कम भए पनि एक्लै लडेर प्राप्त सिट गुणात्मक भएको उल्लेख गरेको छ । “रिक्त ४४ मध्ये १९ स्थानमा नेपाली कांग्रेसका उमेदवार विजयी भए । समग्रमा यो ४३।१८ प्रतिशत हो । ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थानभन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम तर राजनैतिक, सांगठनिक र गुणात्मक रूपले बढी महत्त्वपूर्ण छ,” विज्ञप्तिमा भनिएको छ, “यो परिणाम हासिल गर्न मैदानमा जुटेका सबै तहका आदरणीय साथीहरूमा बधाई र सम्मान छ ।”
नेपाली कांग्रेसले यस अघि २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रसँग मिलेर निर्वाचन लडेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १२ : ३५ बजे