। लमजुङ सदरमुकाम बेसीशहरस्थित जिल्ला अस्पतालमा जीवनजलको चरम अभाव भएको छ । जिल्लाको सबैभन्दा ठुलो सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् ।
सरकारले निःशुल्क वितरण गर्दै आएको जीवनजल अहिले लमजुङ अस्पतालको फार्मेसीमा किन्छु भन्दा समेत नपाएपछि विरामीहरुले सास्ती खेप्दै आएका छन् । जिल्ला अस्पतालमा जीवनजल पाइन छाडेको विगत दुई महिनाअघिदेखि बिरामीले गुनासो गरेका थिए । झाडा पखाला लागेर अस्पतालमा पुगेका बिरामीले अस्पताल भित्रै जीवनजल नपाउने अवस्था भएपछि बाहिर मेडिकलमा किन्नुपर्ने बाध्य भएका छन् । जीवनजलको लागि सरकारी स्वास्थ्य संस्थाले नजिकको औषधि पसलमा किन्न पठाउने गरेको बिरामीहरूले बताएका छन् ।
झाडापखाला लागेको बेला मृत्युबाट जोगाउने अचुक औषधिको रूपमा मानिने जीवनजल जिल्लाकै प्रमुख सरकारी अस्पतालमै अभाव हुँदा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । भाइरल ज्वरो, झाडा बान्ता र डेंगुका बिरामी अस्पतालमा आउने गरे पनि अस्पतालमा दुई महिना अघि देखिनै जीवनजलको अभाव हुँदै आएको हो ।